काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेलको नियुक्ति गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
गभर्नर सिफारिस समितिले पौडेललाई पहिलो प्राथमिकतामा राख्दै नीलम ढुंगाना तिमिल्सिना र दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेको थियो। तीमध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो।
पौडेल यसअघि गभर्नर सिफारिस समितिमा अर्थविद् सदस्यका रूपमा थिए। गभर्नर बन्ने सम्भावना देखिएपछि उनले राजीनामा दिएर दौडधूप सुरु गरेका थिए।
राष्ट्र बैंकको गभर्नर पद चैत २४ गतेदेखि रिक्त थियो। त्यसयता डेपुटी गभर्नर ढुंगाना कार्यवाहक रूपमा कार्यरत थिइन्।