
काठमाडौं – सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलनका कारण यातायात सेवा अवरुद्ध भएपछि नेपाल प्रहरीले यात्रुहरूका लागि दुईवटा बस सञ्चालनमा ल्याएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी रमेश थापाका अनुसार, आइतबारदेखि दुई रूटमा बस सञ्चालन गरेर यात्रुहरूलाई निशुल्क सेवा प्रदान गरिँदैछ।
बसको पहिलो रूट यस प्रकार छ:
नक्साल — बालुवाटार — टिचिङ — चक्रपथ — नयाँ बसपार्क — बालाजु — स्वयम्भू — कलंकी — बल्खु — सातदोबाटो — लगनखेल — जावलाखेल — थापाथली — माइतीघर — पुतलीसडक — जय नेपाल हल — नक्साल।
दोस्रो रूट:
नक्साल — रातोपुल — चाबहिल — गौशाला — त्रिभुवन विमानस्थल — कोटेश्वर — ठिमी — सल्लाघारी — सूर्यविनायक — फिर्तीमा चाबहिल — सुकेधारा — चक्रपथ — टिचिङ — बालुवाटार — नक्साल।
यात्रीहरूले यो बसमा यात्रा गर्दा कुनै भाडा तिर्नु नपर्ने जनाइएको छ।
यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली खारेजीलगायत सात बुँदे माग राख्दै आइतबारदेखि सार्वजनिक यातायात सेवा बन्द गरेका हुन्।
सरकार र व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता चलिरहेको छ।
यातायात ठप्प हुँदा लामो दूरीका यात्रुहरू विशेष रूपमा मर्कामा परेका छन् भने छोटो दूरीमा केही राइडर्सले सेवा दिइरहेका छन्। राइड सेयरिङ एपहरूमा यात्रुको चाप उल्लेख्य रूपमा बढेको देखिएको छ।