
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको १० दिने चीन भ्रमणले नेपाल–चीन सम्बन्धलाई पुनर्ताजगी बनाएको भ्रमण टोलीले जनाएको छ।
टोलीमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा नेकपा (एमाले) नेता दामोदर भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भ्रमण सफल र फलदायी भएको बताउनुभयाे। उहाँका अनुसार चीन सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई विशेष आतिथ्यसहित स्वागत गरेको थियो।
भ्रमणका क्रममा भण्डारीको टोलीले चीनका उपराष्ट्रपति, नेशनल पिपुल्स कांग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख, गान्सु प्रान्तका मुख्यमन्त्रीलगायत उच्चपदस्थ नेताहरूसँग भेटवार्ता गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयाे।
‘चीनमा रहँदा भएका उच्चस्तरीय भेटघाटले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको छ,’ मन्त्री भण्डारीले भन्नुभयाे, ‘नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध, साझा मान्यता र पूर्वसहमतिको कार्यान्वयनलाई यो भ्रमणले पुनः सजीव बनाएको छ।’
पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा गएको टोलीमा एमालेका वरिष्ठ नेताहरू पनि सहभागी हुनुहुन्थ्याे। भ्रमण सद्भाव र मैत्री सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सम्पन्न भएको जनाइएको छ।