
काठमाडौं – अहिले नयाँ ऋण लिँदा कुन बैंकमा सस्तो ब्याज पर्छ भन्ने कुरामा अलमलिनु पर्ने अवस्था छैन । पछिल्लो समय वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) उल्लेख्य रुपमा घटेको छ ।
पछिल्लो एक वर्षको अवधिमा नै वाणिज्य बैंकहरू आधार दर झन्डै साढे २ प्रतिशत बिन्दु घटेको छ, जसको प्रत्यक्ष फाइदा ग्राहकहरूले कर्जाको ब्याजदरमा पाउनेछन् । बैंकहरूको आधार दर घट्नु ग्राहकहरूका लागि सकारात्मक संकेत हो, जसले कर्जाको ब्याजदरलाई कम बनाउँछ ।
हाल २० वाणिज्य बैंकहरूको औसत आधार दर हाल ६.२६ प्रतिशतमा झरेको छ । जबकि, गत वर्षको जेठ महिनामा भने ८.५७ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा नै २.३१ प्रतिशत बिन्दु घटेको छ ।
हाल बैंकहरूमा तरलता प्रशस्त छ, तर लगानीको माग अपेक्षाकृत कमजोर देखिएको छ । जसले बैंकहरूले निक्षेपको ब्याज घटाउँदै कर्जाको लागत समेत घटाएका छन् । यसले ऋण सस्तो बनाएको छ ।
यसै अवधिमा निक्षेप संकलन पनि ६.७५ प्रतिशत बढेको नेपाल बैंकर्स संघको तथ्याङकले देखाउँछ । योसँगै निक्षेप ६१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । तर, कर्जा प्रवाहमा केही सुधार देखिए पनि अझै अपेक्षित स्तरमा पुगेको छैन् । तरलता प्रशस्त भए पनि लगानी वातावरण सुस्त भएकोले बैंकहरूले ऋण प्रवाहमा अझै गतिको खोजी गरिरहेका छन् ।
व्यक्तिगत, घरजग्गा, व्यवसायिक वा अन्य कुनै पनि प्रयोजनका लागि कर्जा लिने योजना बनाएका ग्राहकले कम आधार दर भएका बैंकहरु रोज्न सक्नेछन् । कम आधार दर भएका बैंकबाट ऋण लिनु फाइदाजनक हुन सक्छ । कम आधार दर भएका बैंकहरुमा कर्जाको ब्याजदर पनि कम हुन जान्छ । बैंकको कर्जा दर आधार दरमा प्रिमियम थप गरेर निर्धारण गरिन्छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधार दरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने गरेका छन् । त्यसमा पनि बैंक र कर्जाको प्रकृति अनुसार फरक पनि हुने गर्दछ ।