काठमाडौं – विगत लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन् । आर्थिक गतिविधि चलायमान नहुँदा कर्जा लगानी बढाउन नसकेपछि बैंकहरुले पनि अधिक तरलताको रकम अल्पकालीन उपकरणहरुमा लगानी गर्दै आएका छन् । अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न समेत कठिन भएको छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २० दिनका लागि ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत वैशाख २८ गते राखेको २९ अर्ब १० करोड परिपक्क भएपछि केन्द्रीय बैंकले थप ७० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो ।

बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि जम्मा गरेको २ खर्ब १२ अर्ब २५ करोड अझै परिपक्क हुन बाँकी छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति असार ८ गते निर्धारण भएको छ ।

यसअघि केन्द्रीय बैंकले गत बुधबार ८० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा २७ बैंक तथा वित्तीय संस्थाले १ खर्ब ३३ अर्ब ९५ करोड जम्मा गर्न चाहेका थिए । जसमध्ये राष्ट्र बैंकले मागेजति ८० अर्ब मात्र लिएको थियो । जसको औसत ब्याजदर २.८० प्रतिशत कायम भएको थियो । जेठ महिना लागेपछि मात्रै केन्द्रीय बैंकले ४ तरलता प्रशोचन गरिसकेको छ ।

अधिक तरलताका कारण बैंकहरुले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशत पुगेको छ । अन्तरबैंकदर ३ प्रतिशतभन्दा तल झर्न नदिनका लागि राष्ट्र बैंकले नियमित रुपमा वित्तीय प्रणालीबाट रकम तानिरहेको छ। हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय